राप्तीसोनारी–११ कार्तिकः बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ७ लाई बिहिबार एक कार्यक्रमका वीच बालविवाह मुक्त वडा घोषणा गरिएको छ । राप्ती सोनारीको वडा नम्बर ७ पालिकाकै दोस्रो बालविवाह मुक्त वडा घोषणा भएको हो । वडा नम्बर ७ का वडा अध्यक्ष रामलखन थारुको अध्यक्षता एवं राप्ती सोनारी गाउँपालिका उपाध्यक्ष धनी कुमारी खत्रीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा वडाध्यक्ष थारुले बाल विवाहमुक्त वडा घोषणा तथा प्रतिबद्धता पढेर सुनाएपछि पालिका उपाध्यक्ष धनी कुमारी खत्रीले उक्त प्रतिबद्धतापत्र वडालाई हस्तान्तरण गरि वडालाई वालविवाह मुक्त घोषणा गरेकी हुन । घोषणासभामा सर्वेक्षण प्रतिवेदन प्रस्तुत गर्दै स्याक नेपालका बालविवाह रोकथाम परियोजना प्रमुख जगदिश थापाले वडामा पछिल्लो एक वर्षमा ५ प्रतिशत मात्र बालविवाह भएको बताए ।
२० प्रतिशत भन्दा कम बालविवाह भएको अवस्थामा बालविवाह मुक्त घोषणा गर्न मिल्ने निर्देशिका अनुसार राप्ती सोनारी ७ लाई बालविवाह मुक्त वडा घोषणा गरिएको थापाले बताए । ‘हामी सबैको प्रतिबद्धता बालविवाह बिरुद्धको साझा प्रतिवद्धता’ भन्ने मूल नाराका साथ वडा नम्बर ७ लाई बालविवाह मुक्त वडा घोषणा सभा–२०७८ लाई सम्बोधन गर्दै ै प्रमुख अतिथि राप्ती सोनारी गाउँपालिका उपाध्यक्ष धनी कुमारी खत्रीले यस अभियानमा साथ दिने संघसंस्थाहरुलाई धन्यबाद दिँदै बालविवाह शून्यमा झार्न सबैको उत्तिकै दायित्व हुने बताइन् ।
उनले केही वडालाई पनि अबको केही महिना भित्र बालबिवाह मुक्त घोषणा गर्ने तयारी भई रहेको बताउँदै राप्ती सोनारी गाउँपालिकालाई पूर्णरुपमा बालबिवाह मुक्त गरिसक्ने प्रतिबद्धता व्यक्त गरीन् । राप्ती सोनारी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत लोक बहादुर शाहीले राप्ती सोनारीको दोस्रो वडाका रुपमा वडा नम्बर ७ बालविवाह मुक्त वडा घोषणा भएको क्षण ऐतिहासिक भएको बताउँदै बालविवाह मुक्त अभियानमा स्याक नेपालले खेलेको भूमिका अत्यन्तै प्रशंसनीय रहेको बताए ।
राप्ती सोनारी गाउपालिका वडानं. ७ को बिभिन्न टोलमा १ सय ५० जनामा गरिएको सर्भेक्षणको आधारमा बालअधिकार संरक्षण समितिको सिफारिसमा सो वडालाई बालबिवाह मुक्त वडा घोषणा गरिएको गाउपालिकाका वडा नं. ७ का वडाध्यक्ष रामलखन थारुले जानकारी दिए ।
वडामा गरिएको सर्बेक्षण अनुसार २० प्रतिशतभन्दा तल अर्थात सो वडामा १६ दशमलव १२ प्रतिशत बालबिवाहको अवस्था रहनुका साथै बालबिवाह सम्बन्धी रणनीति जारी, बाल संरक्षण नीति लागू, बालबिवाह मुक्त अभियान सञ्चालन निर्देशिका, बाल अधिकार संरक्षण समिति पालिका, वडा र विद्यालय स्तरमा क्रियाशील रहेको लगायतका मापदण्ड पूरा भएकाले वडालाई बाल विवाहमुक्त घोषणा गरिएको हो । त्यस अवसरमा वडालाई बालविवाह मुक्त घोषणा गर्न सहयोग गर्ने संघसंस्था र ब्यक्तिहरुलाई सम्मान गरिएको थियो ।