नेपालगन्ज : बाँकेमा सञ्चालित बालविवाह रोकथाम परियोजना जिल्ला समवन्वय समितिलाई हस्तान्तरण गरिएको छ । उक्त परियोजनालाई स्याक नेपालले साढे ३ वर्षसम्म सञ्चालन गरेको थियो । प्लान इन्टरनेशनल नेपालको सहयोगमा ८ वटै स्थानीय तहसँगको सहकार्यमा उक्त परियोजना सञ्चालन गरिएको थियो । परियोजना सम्पन्न हुँदासम्म ४ करोड ७३ लाख ८९ हजार ६ सय ९० रुपैयाँ खर्च भएको स्याक नेपालले जनाएको छ ।
नेपालगन्जमा मंगलबार आयोजित परियोजना हस्तान्तरण कार्यक्रममा जिल्ला समन्वय समिति बाँकेका प्रमुख अजयकुमार श्रीवास्तवले बाल बिवाह मुक्त अभियानलाई निरन्तरता दिइने बताए । ‘अहिलेसम्म २९ वटा वडालाई बालबिवाह मुक्त घोषणा गरिएको छ, अझै धेरै वडा घोषणा हुन बाँकी छन्, ति वडालाई सम्बन्धित पालिकाको अग्रसरतामा घोषणा गरिनेछ,’ उनले भने ‘बाँकी वडालाई घोषणा गर्नका लागि स्याक नेपाल र प्लानसँग हामी आवश्यक सहयोग लिनेछौं ।’
बाँकेका ८ वटै पालिकाले आगामी फागुनसम्म घोषणा गरिसक्ने र त्यसपछि जिल्लालाई घोषणा गरिने प्रमुख श्रीवास्तवले जानकारी दिए । अहिलेसम्म बाँकेका ८ मध्ये जानकी र बैजनाथ गाउँपालिका मात्र बालविवाह मुक्त पालिका घोषणा भएका छन् ।
सो क्रममा प्लानका भुवनराज चटौत र स्याक नेपालका अध्यक्ष शिवलाल पाण्डेले जिल्ला समन्वय समिति प्रमुख श्रीवास्तवलाई परियोजना हस्तान्तरण गरेका थिए । कार्यक्रममा स्याक नेपालका परियोजना प्रवन्धक जगदिश थापाले परियोजना सञ्चालन अवधिभर गरिएका कार्यक्रमबारे जानकारी दिएका थिए ।