रेडियो टाइगर, बर्दिया, असोज २९ । अब हाम्रो पालोः हाम्रो अधिकार, हाम्रो भविष्य’ नारा सहित बारबर्दिया नगरपालिका ३ बस्ने १७ वर्षिय प्रतिभा थारु प्रहरी चौकी रामपुरको प्रहरी निरिक्षक तथा १६ वर्षिय किशोरी अर्चना चौधरी नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बेलुवाबज्जाको प्रधानाध्यापक बनेकी छीन् । ‘अन्तर्राष्ट्रिय बालिका दिवस’ का अवसरमा ‘गल्स टेकओभर’ अभियान अन्तरगत एक दिनका लागि प्रतिभा थारुले प्रहरी निरिक्षक तथा अर्चना चौधरीले प्रधानाध्यापकको पद सम्हालेका हुन् ।
अन्तर्राष्ट्रिय बालिका दिवसको शुभकामना सहित आफ्नो पद हस्तान्तरण गर्दै प्रहरि चौकी बनियाभार रामपुरका प्रहरी निरिक्षक हरिहर खड्काले गर्ल्स टेक ओवर जस्तो अभियानले बालिका तथा किशोरीलाई नेतृत्वदायी भूमिका अनुसरण गर्न भित्री प्रेरणा प्रदान गर्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘हाम्रो जस्तो पुरुषप्रधान समाजमा बालिका हुनु अभिशाप नै हो जस्तो गरिन्छ ।
महिला तथा बालिकाको हक अधिकारको बारेमा जति नै सुकै स्तरमा छलफल गरे पनि, कानुन बने पनि त्यसको कार्यन्वयन पक्ष निकै फितलो रहेको छ । यद्यपि अहिले धेरै महिलाले नेतृत्वदायी भूमिकामा आइरहनु भएको छ । गर्ल्स टेक ओवर जस्तो अभियानले बालिका तथा किशोरीलाई नेतृत्वदायी भूमिकाहरू अनुसरण गर्न भित्री प्रेरणा प्रदान गर्ने छ ।
यस्तै गर्ल्स टेक ओवर कार्यक्रम अन्तरगत नेपाल राष्ट्रिय माध्यामिक बिद्यालय बेलवा बजारको प्रधानाध्यापक जिम्मेवारी एक दिनका लागि अर्चना चौधरीले सम्हालेकी छिन् । परिवर्तनका संवाहक (सीओसी) कक्षा बाट छनौट भएका किशोरीहरुलाई एक दिनका लागि बिभिन्न क्षेत्रको जिम्मेवारी प्रदान गरिएको हो । मंगलबार देखि अब हाम्रो पालोः हाम्रो अधिकार, हाम्रो भविष्य नारा सहित देशभर अन्तर्राष्ट्रिय बालिका दिवस मनाइएको छ ।
प्लान इन्टरनेसनलको स्टेट अफ त वल्र्डले सार्वजनिक गरेको अध्ययन प्रतिवेदन अनुसार नेपालका किशोरी र युवा महिलाहरु स्थानीय र राष्ट्रिय दुवै तहमा राजनीतिक सहभागिताको लागि इच्छुक रहेको देखाएको छ । सर्वेक्षणमा भाग लिएका मध्ये ९० प्रतिशत भन्दा बढीले राजनीतिमा सहभागी हुनु महत्वपूर्ण भएको, ९२ प्रतिशत किशोरी र युवा महिलाहरुले राजनीतिमा सहभागी भएको केही अनुभव रहेको पाइएको छ ।
रिपोर्ट २९ वटा देशका सबै क्षेत्र, आयस्रोतको अवस्था र नागरिक जीवनको परिस्थिति अनुसार १५ देखि २४ वर्ष उमेर समूहका गरी २९ हजार किशोरी तथा महिला माझ सर्वेक्षण गरेर तयार पारिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । किशोरीहरुले भोगिरहेको संरचनात्मक विभेद विरुद्ध स्थानीय, प्रादेशिक र संघीयस्तरमा किशोरी र बालिकाका सवालमा जिम्मेवार व्यक्ति तथा संस्थाहरुलाई ज्ञापनपत्र बुझाएका छन् ।
किशोरीहरुले ९ बुँदे ज्ञापनपत्रमा शक्तिमा साझेदारी (इक्वेल पावर नाउ) भन्ने ध्येयका साथ किशोरीका अधिकार, किशोरी र युवा महिलाका राजीनीतिक अधिकार र राजनीतिमा किशोरी र बालिकाका मुद्दाहरुमा गम्भीर हुन अनुरोध समेत गरेका छन् । प्लान इन्टरनेशनल नेपाल, सामाजिक सचेतन सरोकार मञ्च, समाज जागरण केन्द्र (स्याक), बि–ग्रुप र बाँके युनेस्को क्लबको संयुक्त साझेदारिमा कार्यक्रमको संचालन गरिएको आयोजक संस्था स्याक नेपाल बाँकेका कार्यक्रम अधिकृत लक्ष्मी प्रसाद शर्माले जानकारी दिनुभयो ।